रुपन्देही । जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
थुनछेक बहसछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन बुधबार (हिजो) अदालत उपस्थित भएका लामिछानेको थुनछेक बहस आज सकिएको थियो ।
थुनछेक बहससँगै सरकारी पक्षले जवाफी बहस गरेका थिए । जवाफी बहस सकिएसँगै अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
लामिछानेविरुद्ध गत मंगलबार चितवनमा साहारा सहकारीको बचत रकम ठगीसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।
साहारा चितवन बहुउद्येश्यीय सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उनीमाथिको अभियोग पत्रमा उल्लेख छ ।
यसअघि कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पनि लामिछाने विभिन्न मितिमा धरौटी बुझाएर रिहा भएका थिए ।