काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थालेको छ ।
ट्रान्सक्रिप्ट लगायतका सबै प्रमाणपत्रका लागि घरबाटैनै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने व्यवस्था गर्न थालिएको उनले बताए ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले यसअघि पनि ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्ने व्यवस्था गरे पनि सफल हुन सकेको थिएन ।
यो व्यवस्था भएमा ट्रान्सक्रिप्ट, पुनर्याेग, चारित्रिक प्रमाणपत्र लगायत काम अनलाइन मार्फत हुनेछन् । जोशीले अनलाइन फाराम भरेका विद्यार्थीका प्रमाणपत्र पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने समेत बताए ।
पनिकाले यसअघि सम्बन्धित क्याम्पसबाट लब्धाङ्क पत्र (मार्कसिट) प्रिन्ट गर्ने व्यवस्था गरिसकेको छ । गत भदौबाट सबै क्षेत्रीय कार्यालयबाट उत्तरपुस्तिका परीक्षणको काम समेत सुरु भइसकेको छ । अब विस्तारै क्षेत्रीय कार्यालयबाट नै प्रमाणपत्र प्रिन्ट गरेर विद्यार्थीलाई दिने व्यवस्थासमेत गरिने पनिकाले जनाएको छ ।