हलेसी बजारमा लागेको भीषण आगलागी चार घण्टापछि नियन्त्रण, करोडौंको क्षति

राष्ट्रपाटी न्युज

५ फाल्गुन २०८१

काठमाडाैं । खोटाङको ऐतिहासिक तथा त्रिधार्मिक स्थल हलेसी बजारमा आइतबार साँझ भएको भीषण आगलागी स्थानीय बासिन्दा र सुरक्षा निकायको अथक प्रयासपछि करिब चार घण्टापछि नियन्त्रणमा आएको छ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित पदम राईको घरबाट सुरु भएको आगलागीले ठूलो धनजनको क्षति पुर्याएको छ। साँझ करिब ६ बजे भान्साकोठामा रहेको ग्यास सिलिन्डर लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो राति करिब ११ बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सफल भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए ।

आगलागीले स्थानीय पदम राईको घर र हार्डवेयर पसल पूर्ण रूपमा ध्वस्त भएको छ। त्यस्तै, निर्धन उत्थान लघुवित्त कार्यालय, साथै आइराज राई र प्रकाशचन्द्र गिरीका घरहरूमा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार, आगलागीका कारण करिब १ करोड रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

सुक्खा क्षेत्र भएकाले पानीको अभाव र दमकलको सुविधा नहुँदा आगो नियन्त्रण गर्न थप चुनौती उत्पन्न भएको थियो। आगलागी नियन्त्रणका लागि जिल्लाका तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेका थिए। स्थानीयबासी र सुरक्षाकर्मीहरूको संयुक्त प्रयासले मात्र आगोलाई फैलिनबाट रोक्न सकिएको थियो।

सौभाग्यवश, यस भीषण आगलागीमा कुनै मानवीय क्षति नभए पनि प्रभावित परिवारहरूको लाखौंको सम्पत्ति जलेर खरानी भएको छ। स्थानीय सयन्द्र राईका अनुसार, पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास लिक हुँदा आगो सल्किएको थियो। समयमै नियन्त्रण गर्न नसक्दा आगलागीले भयावह रूप लिएको थियो।

यस घटनाले हलेसी बजारलगायत अन्य दुर्गम क्षेत्रहरूमा दमकलको पहुँच, विपद् व्यवस्थापन तथा सुरक्षाका उपायहरूलाई थप प्रभावकारी बनाउनु पर्ने आवश्यकतामा प्रकाश पारेको छ। आगलागीका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि ग्यास तथा अन्य ज्वलनशील पदार्थको सुरक्षित प्रयोग गर्न विज्ञहरूले आग्रह गरेका छन्।

स्थानीय प्रशासनले आगलागीबाट भएको वास्तविक क्षतिको विवरण संकलन गरिरहेको छ। हलेसी बजारका व्यवसायी तथा स्थानीयहरू यस्ता घटनाबाट बच्न उचित सतर्कता अपनाउनुपर्नेमा एकमत देखिएका छन्।


Published :५ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media