काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपालले कीर्गिस्तानलाई १-० गोलले हराएको हो।
नेपालका लागि खेलको ९औं मिनेटमा विमला चौधरीले एक मात्र गोल गर्दै टिमलाई अग्रता दिलाइन् । उनले सविता रानाको क्रसलाई उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गरिन् ।
पहिलो हाफभरि नेपालले केही थप अवसर सिर्जना गरे पनि गोल गर्न भने असफल रह्यो। डिफेन्सको सशक्त प्रदर्शनका कारण नेपालले अग्रता जोगाउन सफल भयो ।
नेपालले सन् २०१८ मा किर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले हराएको थियो। यस पटकको खेल तुलनात्मक रूपमा प्रतिस्पर्धात्मक देखिए पनि नेपालले नतिजा आफ्नो पक्षमा पार्यो ।
चार टोली सहभागी प्रतियोगितामा शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तुलनात्मक रूपमा म्यानमार र लेबननलाई बलियो टिम मानिएको छ। जसका कारण नेपाललाई फाइनल यात्रा सुनिश्चित गर्न आगामी खेलहरूमा थप उत्कृष्ट प्रदर्शन आवश्यक हुनेछ ।
नेपालका डिफेन्स र गोलकिपरले अन्तिम समयसम्म किर्गिस्तानलाई गोल गर्न नदिई उत्कृष्ट खेल प्रदर्शन गरे । विपक्षी टोलीले दोस्रो हाफमा केहि आक्रमण प्रदर्शन गरे पनि नेपालका खेलाडीहरूले सफल बचाउ गरे ।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा म्यानमार र लेबनन आमनेसामने भएका थिए । सो खेलमा म्यानमारले लेबनानलाई ३-१ गोलले हराएको थियो ।