काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) २०८१ को शुभकामना दिंदै कुरीतिलाई निर्मुल गर्दै मौलिक संस्कृतिको संवर्द्धन गर्न आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा लेखेका छन्, ‘होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’
उनले फागुपूर्णिमाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेका छन्।
राष्ट्रपति पौडेलले होलीको विभिन्न रङ्गहरु जस्तै नेपाली समाजको सुन्दरता पनि विविधता भएको बताएका छन्। ‘विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याए पछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राती चीर दाह गरेपछि समापन हुन्छ। रङ्गहरूको पर्वको रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपूर्णिमा (होली) पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुशियालीसाथ मनाउने परम्परा रहेको छ।’, शुभकामना सन्देशमा भनेका छन्, ‘होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको छ। यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो।’
होली पर्व असत्यमाथि सत्यको, अन्याय माथि न्यायको, दूराचार माथि सदाचारको र अधर्म माथि धर्मको विजय भएको खुशियालीमा मनाइने हुँदा यो पर्वले समस्त नेपालीहरूबीच रिस राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास राष्ट्रपतिले व्यक्त गरेका छन् ।