महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ ६ विकेटले पराजित

राष्ट्रपाटी न्युज

चैत्र १, २०८१

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो। नेपालले १०५ रनको विजयी लक्ष्य १९.३ ओभरमा चार विकटको क्षतिमा पूरा गर्यो।

नेपालका लागि सम्झना खड्काले ४७ रन बनाइन्। उनले ४३ बल खेल्ने क्रममा तीन चौका हानिन्। यस्तै पूजा महतोले अविजित २० तथा कप्तान इन्दु बर्माले १८ रन बनाइन्।

बलिङतर्फ हङकङकी मेहकदीप कौर र लिया वाङ कीले एक–एक विकेट लिए।

यसअघि हङकङका लागि शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन्। उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन्।  त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन्।

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक–एक विकेट लिए।


Published :चैत्र १, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media