दलितको घरमा डोजर चलाउने गाउँपालिका अध्यक्षसहित दुईजना प्रहरी नियन्त्रणमा

राष्ट्रपाटी न्युज

चैत्र ९, २०८१

सिरहा । यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ।

उनीहरूसँग सोधपुछ  भइरहेको मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले जानकारी दिए। पीडितबाट जाहेरी आएपछि उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरी नायव महानिरीक्षक आचार्यले बताए।

यही चैत १७ गतेदेखि महायज्ञ लगाउनका लागि सिरहाको औरही-५ का दलित दीपक मलिक (डोम)को घर गत फागुन १० गते भत्काइएको थियो । घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ गएका थिए । घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि उनीमाथि जातीय विभेद गरेको भन्दै तीव्र विरोध भएको थियो ।

यसै घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबारै मन्त्रालय तानेको छ। राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगसमेतले घटनालाई महत्व दिएर स्थलगत अनुगमन गरेको थियो।

प्रतिनिधि सभाको बैठकमा समेत सांसदले पटकपटक यस घटनाका सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै दोषीमाथि तत्काल आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।


Published :चैत्र ९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media