अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई नगदसहित सम्मान

राष्ट्रपाटी न्युज

चैत्र ९, २०८१

पर्वत । पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ दम्पतीलाई ६०औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा शुक्रबार नगदसहित सम्मान गरेको हो।

गाउँपालिकाको केन्द्र लामाखेतमा भएको सम्मान कार्यक्रममा अन्तरजातीय विवाह गरेका प्रत्येक जोडीलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाई, जिल्ला समन्वय समिति उपप्रमुख सोमबहादुर जिसी, गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दिपक आचार्यले संयुक्त रूपमा जोडीलाई सम्मान गरेका गरेका हुन्।

गाउँपालिका अध्यक्ष आचार्यले जातीय भेदभाव हटाएर समाज परिवर्तनमा अन्तरजातीय विवाह गर्ने व्यक्तिको ठूलो योगदान रहेको बताए। कानुनले जातीय भेदभाव र छुवाछुत निषेध गरे पनि सामाजिक कुरीति कायम रहेकाले यस्ता विवाह गरेर उदाहरण बनेका दम्पतीलाई सम्मान गरिएको उनको भनाइ थियो।

गण्डकी प्रदेशसभा सदस्य दमाईले गाउँपालिकाको यो सम्मानले सकारात्मक सन्देश दिएको बताए। गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले पालिकाभित्रका सबै वडामा दलित र गैरदलितबीच विवाह गरेका जोडीको विवरण सङ्कलन गरेर सम्मान गरिएको जानकारी दिए।


Published :चैत्र ९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media