काठमाडौं। होम इन्टरप्राइज नेपालद्वारा संचालित इको क्राफ्ट प्ल्याटफर्म संचालनमा आएको छ । काठमाडौंमा आइतवार आयोजित एक कार्यक्रमका बीच इकमर्श प्ल्याटफर्म शुभारम्भ गरिएको हो । घर उद्यम मञ्च र होमनेट नेपालको अगुवाइमा यसका साझेदारसंस्थाहरु समेतको प्रयासबाट घरदेखि घरसम्म नाराका साथ घरघरमा उत्पादित रैथाने पर्यावरणमैत्री उत्पादनहरु सिधै उपभोक्ताको घरसम्म पुर्याउनका लागि होम इन्टरप्राइजनेपाल डटकम प्ल्याटफर्म संचालनमा ल्याईएको हो । इकमर्श प्ल्याटफर्मको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले राज्यले नै गर्नुपर्ने काम घर उद्यम मञ्च र होमनेट नेपाल लगायतका संस्थाहरुले थालनी गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा महानगरपालिकाले यस अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । इको क्राफ्टमा अहिलेसम्म झण्डै १२५ जना घर उद्यमीहरु जोडिएका छन् भने आगामी २ वर्षभित्रमा त्यस्ता ५०० परिवार घर उद्यमीहरुका उत्पादनहरु संस्थाको थापाथली स्थित आउटलेट र इकमर्श प्ल्याटफर्मबाट नेपालभर र विदेशमा समेत डेलिभरी गर्ने उद्धेश्य रहेको यस अभियानका प्रबद्र्धक तथा होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले जानकारी दिए। सो अवसरमा उनले नवजात शिशुदेखि ज्येष्ठ नागरिकसम्मलाई आवश्यक आफूलाई चाहिएको पर्यावरणमैत्री लुगा, कपडा, हस्तकलाका सामान एवम् हिमालको फेदिमा फलेका प्रांगारिक खानेकुरा इकमर्श प्ल्याटफर्ममार्फत खरिद गर्न पाइने बताए ।
विभिन्न जातजातिमा निहित रैथाने परम्परागत ज्ञान, सीप, प्रविधि र कलामा आधारित विविध प्रकारका पर्यावरणमैत्री स्वदेशी वस्तु उत्पादनहरुको जगेर्ना गर्ने र सो मार्फत ग्रामीण तथा शहरी भेकमा रही जोखिमपूर्ण जीवनयापन गर्न बाध्य महिला तथा पुरुषहरुको लागि दीगो तथा मर्यादित स्वरोजगारी श्रीजना गर्ने र हातैले बनेका त्यस्ता पर्यावरणमैत्री हस्ताकलाका उत्पादन एवम् प्रंगारिक कृषि उपजहरु उपभोक्तासम्म पुर्याउने र व्यक्ति, परिवार र समाजलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन मद्धत गर्ने होमेनेट नेपालको लक्ष्य रहेको छ । कार्यक्रममा सहभागि विभिन्न क्षेत्रका प्रतिनिधिहरुले घर उद्यम मञ्च र होमनेट नेपाल लगायतका संस्थाहरुले थालनी गरेको यो अभियानमा साथ दिने प्रतिबद्धता जनाएका थिए ।