राष्ट्र बैङ्कको कामु गभर्नरमा नीलम ढुङ्गाना नियुक्त

राष्ट्रपाटी न्युज

२५ चैत्र २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको कायमुकायम गभर्नरमा नीलम ढुङ्गाना तिम्सिनालाई नियुक्त गरिएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई कामु गभर्नरमा नियुक्त गरेको पौडेलको सचिवालयले जनाएको छ । नेपाल राष्ट्र बैङ्कको गभर्नरबाट महाप्रसाद अधिकारी सेवानिवृत भएपछि वरिष्ठतम डेप्युटी गभर्नर रहेकी  तिम्सिनालाई राष्ट्र बैङ्क ऐन–२०५८ को दफा २७ बमोजिम कामु नियुक्त गरिएको हो ।

गभर्नर नियुक्त गर्न सरकारले अर्थमन्त्री पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिले तीन जनाको नाम सिफारिस गर्ने र सोही आधारमा मन्त्रीपरिषद्ले एक जनालाई गभर्नर बनाउने छ ।

गभर्नरका लागि विभिन्न व्यक्तित्वको नाम चर्चामा रहे पनि सिफारिस समितिले कुनै नाम सार्वजनिक गरिसकेको छैन ।

राष्ट्र बैङ्कमा पहिलो महिला डेपुटी गभर्नर बनेकी तिम्सिना २०५४ सालमा अधिकृतस्तरबाट राष्ट्र बैङ्कको सेवामा प्रवेश गरेकी थिइन् ।


Published :२५ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media