आइसीसी यू–१९ विश्वकप छनौटः युएईविरुद्ध नेपाल ५ रनले विजयी

राष्ट्रपाटी न्युज

३० चैत्र २०८१

काठमाडौं । नेपालले आइसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा यूएई यू–१९ लाई ५ रनले हराएको छ। नेपालले डर्क वर्थ लुइस स्ट्रेन(डीएलएस)अन्तर्गत यूएईलाई हराएको हो।

मूलपानीको तल्लो क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २०० रन बनाएको थियो। नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएईले ३०.१ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो।

यूएईका लागि तेस्रो क्रमका ब्याटर यायिन किरण राईले १०४ रनको अविजित शतकीय पारी खेले। उनले ९६ बलमा ८ चौका र ५ छक्का प्रहार गरे। मोहम्मद रयान खानले ३५ रन, करण धिमानले १५ रन बनाउँदा उद्दिस सुरी १ रनमा अविजित रहे।

नेपालका लागि बलिङतर्फ अशोक धामी र सन्तोष यादवले समान २–२ विकेट लिए। अभिषेक तिवारी र नरेन भट्टले १–१ विकेट लिए। त्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै २०० रन बनाएको थियो।

नेपालका लागि कप्तान नरेन भट्टले सर्वाधिक ६७ रन बनाए। उनले ७५ बलमा ७ चौका प्रहार गरे। दिलसाद अलिले ३४ र साहिल पटेलले ३२ रन बनाए।

यूएईका लागि उदिस सुरुले ३ विकेट लिए। युग शर्मा र शालोम डिसुजाले २–२ विकेट लिए। आज माथिल्लो मूलपानी मैदानमा अफगानस्तानले ओमानलाई हराउँदै विजयी सुरुवात गरेको छ ।


Published :३० चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media