काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको पार्थिव शरीरलाई नेवारी परम्पराअनुसार शुक्रबार टेकु दोभानस्थित चिन्तामणिघाटमा अन्त्येष्टि गरिएको छ । धर्मपत्नी तेजमाया र भाइ बलराम डङ्गोलले दागबत्ती दिएका थिए ।
डङ्गोलको अन्त्येष्टिमा कांग्रेसका नेताहरू, कार्यकर्ता, आफन्तजन र शुभेच्छुकहरूको बाक्लो उपस्थिति देखिएको थियो । लामो समयदेखि प्रोष्टेट क्यान्सर र मिर्गौलाको समस्याबाट ग्रसित डङ्गोलको ७७ वर्षको उमेरमा बिहीबार राति सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको थियो ।
सन् २०५६ र २०६५ मा प्रतिनिधिसभा सदस्य रहेका डङ्गोलले २०६२÷६३ को प्रतिगमनविरुद्धको काठमाडौं आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । अन्त्येष्टिपछि नेपाली कांग्रेस सानेपा पार्टी कार्यालयमा पार्थिव शरीर राखेर श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो । सो अवसरमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र शशाङ्क कोइराला, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, तथा काठमाडौं उपप्रमुख सुनिता डङ्गोललगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
डङ्गोललाई उनका सहयात्रीहरूले निर्भिक, सत्यनिष्ठ नेता र असल मार्गदर्शकका रूपमा स्मरण गरेका छन् । त्यस्तै, राष्ट्रियसभाका सदस्य अञ्जान शाक्यले डङ्गोलको निधनले नेपाली कांग्रेस र मुलुकले कुशल, इमान्दार र निष्ठावान नेता गुमाएको प्रतिक्रिया दिएका छन् ।