नेपाल पहिलोपटक विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा

राष्ट्रपाटी न्युज

जेष्ठ ६, २०८२

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स (युएई)माथि नेपालले जित निकालेको छ। थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रनको अविजित पारी खेलिन्। उनले २८ बलमा २ चौका प्रहार गरिन्। ओपनर सम्झना खड्काले २१ रन, पूजा महतोले १३ र रुबिना क्षेत्रीले २३ रन बनाइन्। रुबी पोडार ६ रनमा अविजित रहिन्।

यूएईका लागि मिचेल बोता, सुरक्षा कोते, वैष्णबी महेश र कप्तान इशा ओझाले १–१ विकेट लिए।

त्यसअघि,ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो।

युएईका लागि ओपनिङमा आएकी कप्तान ईसा ओझाले सर्वाधिक ३९ रन बनाइन्। उनले ३९ बलमा दुई चौका र एक छक्का प्रहार गरिन्। विकेट किपर ब्याटर त्रिथा सतिशले २१ रन बनाइन्। लावन्या केनीले १२, मिना होट्चाँदनीले २० रन बनाइन्। उडेनी डोना ६ रनमा अविजित रहिन्।

नेपालका लागि  मनिषा उपाध्यायले सर्वाधिक चार विकेट लिइन्। कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन्।

अब मंगलबार हुने थाइल्यान्डसँगको खेलको नतिजाले नेपाललाई केही फरक पर्ने छैन ।


Published :जेष्ठ ६, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media