काठमाडौं । काठमाडौं जोड्ने मुख्य नाका मुग्लिङ नागढुङ्गा सडकको नागढुङ्गा पिपलामोड खण्ड जेठ १० गतेदेखि फेरि बन्द हुने भएको छ ।
पिपलामोड क्षेत्रमा सडक निर्माण र सुधार गर्न भन्दै जेठ १० गतेदेखि २५ गतेसम्म हरेक दिन बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो ।
यसअघि विस्तार गरिएको ठाउँमा अहिले कालोपत्रेको काम गर्नु पर्ने भएकाले दिउँसो नै सवारी रोकेर काम गर्नुपर्ने अवस्था भएको आयोजनाले जनाएको छ । सूचना मार्फत आयोजनाले सो समयमा काठमाडौंबाट बाहिरिने सवारी साधनलाई नागढुङ्गा चेकपोष्ट र काठमाडौं प्रवेश गर्ने सवारी साधनलाई धादिङको खानीखोला बजारमा रोकिने जनाएको छ ।
सो समयमा यात्रा गर्नैपर्ने भए सितापाइला भीमढुङ्गा धार्के सडक तथा सामाखुसी टोखा गल्छी सडकलाई वैकल्पिक रुपमा प्रयोग गर्न सकिने समेत आयोजनाले बताएको छ । राजधानी प्रवेशका लागि आउने र बाहिरिने सबै सवारीसाधनले लेन अनुशासनमा रही सवारी चलाउन र ट्राफिक नियमको पालन गर्न समेत सवारीचालकलाई आयोजनाले आग्रह गरेको छ ।
यसअघि यो खण्डमा राति सवारी आउजाउ रोकेर काम गरिएको थियो ।