र्‍याफ्टिङको प्रमुख गन्तव्य त्रिशूली

राष्ट्रपाटी न्युज

जेष्ठ २८, २०८२

दमौली । देशभर गर्मी बढेको छ। केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मनसुन त्यतै अड्किएको छ। पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ। बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ।

यहीबेला गर्मी छल्नका लागि विकल्प बनेको छ, त्रिशूलीमा र्‍याफ्टिङ। यतिबेला मानिसहरू त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन्। त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेको संख्या केही दिनयता बढेको हो। र्‍याफ्टिङ मात्रै होइन त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू देखिन्छन्।

यो र्‍याफ्टिङका लागि उपयुक्त समय पनि हो। लामो समयदेखि र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यतिबेला र्‍याफ्टिङका लागि आउनेहरूको संख्या उल्लेख्य बढेको बताउँछन्।

“र्‍याफ्टिङका लागि यो अनुकूल समय हो, बर्खा शुरू नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन,” उनले भने, “पारिवारिक साहसिक गतिविधि भएकाले र्‍याफ्टिङ गर्नेहरू बढेका छन्।” बिदाका दिन आउने, र्‍याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताउनेको संख्या बढेको उनको भनाइ छ।

उनका अनुसार त्रिशूलीमा खासगरी काठमाडौँ, चितवन, पोखरालगायत शहरबाट मानिस आउने गरेका छन्। “कतिपय मानिस काठमाडौँ–चितवन–पोखराको यात्राका क्रममा पनि र्‍याफ्टिङ गरेर जानेहरू हुनुहुन्छ,” उनले भने, “गर्मी छल्न मात्रै नभई नदीमाथि स्काई साइक्लिङलगायत गतिविधिका लागि पनि आउने गर्नुभएको छ।”

त्रिशूली नदीमा र्‍याफ्टिङ निकै सहज भएकाले काठमाडौँबाट चितवन वा पोखरा जाने जोकोहीले पनि बाटोमा र्‍याफ्टिङ गर्न सक्छन्। “र्‍याफ्टिङ सबै उमेर समूहका लागि हो,” सञ्चालक कँडेलले भने।

र्‍याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली नदी आफैमा र्‍याफ्टिङका लागि प्रमुख गन्तव्य हो। परिवार तथा साथीहरूको समूहमा नदीमा र्‍याफ्टिङ गर्दा र्‍यापिड (पानीको भंगालो) मा पौँठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक हुने उनले बताए। काठमाडौँबाट नजिकैको गन्तव्य र सहज यातायातको पहुँचका कारणले त्रिशूली र्‍याफ्टिङको प्रमुख गन्तव्य बनेको छ।


Published :जेष्ठ २८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media