माटोको ढिस्को खस्दा एकजनाको मृत्यु, पाँचजना घाइते

अदानचुली (हुम्ला) । सिमकोट गाउँपालिका-४ स्थित बुराउसेमा माटोको ढिस्को खस्दा घाइते भएकी सुवित्रा विकको उपचारको क्रममा मृत्यु भएको छ।

निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खसेको हो । घटनामा परी गम्भीर घाइते भएकी २३ वर्षीया विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए।

घटनामा परी घाइते भएका पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको उपरीक्षक पोखरेलले जानकारी दिए। घाइते बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका-४ का अन्दाजी २२ वर्षीया शर्मिला विक, सिमकोट गाउँपालिका- ४ का ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा रहेका छन्। उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ।


Published :असार ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media