काठमाडौँबाट नेपालगन्ज गइरहेको बस बाढीले बगायो, यात्रु सकुशल

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ।

काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बस बिहीबार राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए।

“नयाँ डाइभर्सनबाट तर्ने क्रममा बाढीले बस बगाएको हो,” प्रहरी निरीक्षक तिमिल्सेनाले भने, “तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ।”

बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए। उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनको भनाइ छ।

यात्रुको सामान के कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन। रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन्।


Published :असार ६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media