काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० विन्दुमा अडिएको छ। मंगलबार नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा पुगेको थियो। सेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ताहरू झनै निराश बनेका छन्। बजार बढ्ने प्रतिक्षामा रहेका लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्।
यसदिन ३११ स्क्रिप्सको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार २५६ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम मंगलबारको तुलनामा केही वृद्धि भएको छ। मंगलबार ५ अर्ब ७६ करोड बराबरको सेयर किनबेच भएको थियो।
मोदी इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको छ। तेह्रथुम पावरको ९.७७ प्रतिशतले बढ्दा पञ्चकन्या माइ हाइड्रोपावरको सेयर ७.७७ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा बुटवल पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५३ करोड ९४ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ३६ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा राधी विद्युतको २४ करोड,सानिमा माइ हाइड्रोपावरको २० करोड र चन्द्रगिरी हिल्सको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। ६ समूहको उपसूचक बढ्दा अन्यको घट्यो। होटल्स एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक १.४३ प्रतिशतले बढयो।
कारोबारमा आएकामध्ये ११२ वटा स्टक्सको मूल्य बढ्दा १३४ वटाको घट्यो। १ समूहको उपसूचक भने स्थिर रह्यो।