इराकको हवाई क्षेत्र अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला

राष्ट्रपाटी न्युज

असार ११, २०८२

काठमाडौँ । इराकको नागर विमान प्राधिकरण (आईसीएए) ले पछिल्लो सुरक्षा अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै, अन्तर्राष्ट्रिय हवाई उडानहरूका लागि हवाई मार्ग पुनः खोलिएको घोषणा गरेको छ ।

प्राधिकरणले मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा यो निर्णय सुरक्षाको व्यापक मूल्यांकन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँगको समन्वय पश्चात् गरिएको जनाएको छ ।

प्राधिकरणका अध्यक्ष बांगिन रेकार्नीका अनुसार, इराकको हालको सुरक्षा स्थिति हवाई उडान सञ्चालनका लागि पर्याप्त विश्वसनीय रहेको छ । उनले भने, “हवाई मार्ग पुनः सञ्चालनमा आएसँगै इराकको भौगोलिक महत्त्व थप मजबुत हुने विश्वास गरिएको छ, जसले पूर्व र पश्चिमलाई जोड्ने सुरक्षित र छोटो मार्गको रूपमा इराकको भूमिका बढाउनेछ । साथै, यसले वैश्विक उडानहरूको समय र इन्धन खर्च पनि घटाउनेछ ।”

इराकले यसअघि जुन १३ मा सुरु भएको इजरायल–इरान द्वन्द्वपछि सम्भावित जोखिमका कारण अन्तर्राष्ट्रिय उडानहरूका लागि हवाई मार्ग अस्थायी रूपमा बन्द गरेको थियो ।

हाल सुरक्षात्मक मूल्यांकनका आधारमा सकारात्मक सुधार देखिएको भन्दै प्राधिकरणले हवाई मार्ग पुनः सञ्चालनमा ल्याउने निर्णय लिएको हो । (एएफपी)


Published :असार ११, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media