एसियन कपः श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

राष्ट्रपाटी न्युज

असार १८, २०८२

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले हराएको छ। तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले ४ गोल गरेको थियो। दोस्रो हाफमा नेपालले ४ गोल थप्यो।

नेपालका लागि कप्तान सावित्रा भण्डारीले पहिलो हाफमा ह्याट्रिक पूरा गरेकी थिइन्। उनले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्।

सातौं मिनेटमा अनिता बस्नेतको कर्नरमा गीता राना मगरले हेडर मार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। खेलको २० औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। अनिता बस्नेतले दिएको पासमा सावित्राले डी बक्सभित्रबाट राम्रो फिनिस गरेकी हुन्।

खेलको ४२औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि तेस्रो गोल गरिन्। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्राले ह्याट्रिक पूरा गरिन्। सबिता राना मगरले बायाँतर्फबाट दिएको बललाई उनले हेडर मार्फत गोलमा परिणत गरेकी हुन्।

खेलको ५३औं मिनेटमा रश्मि कुमारी घिसिङलाई फाउल गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको थियो। नेपालका लागि ५४औं मिनेटमा गीता राना मगरले पेनाल्टीमार्फत गोल गरिन्। यो नेपालको पाँचौं गोल रहेको थियो।

खेलको ६२औं मिनेटमा नेपालकी डिफेन्डर अनिता बस्नेतको कर्नरमा निशा थोकरले हेडरमार्फत गोल गरेकी हुन्। यो नेपालको छैटौं गोल हो। खेलको ७८औं मिनेटमा रेखा पौडेलले गोल गरिन्। पूजाले डिबक्स बाहिरबाट दिएको पासलाई रेखाले हेडरमार्फत गोल गरेकी हुन्। यो प्रतियोगितामा रेखाको यो पहिलो गोल हो।

नेपालको लागि फर्वाडमा खेलिरहेकी पुजा राना मगरले खेलको ८९औं मिनेटमा गोल गरिन्। नयाँ प्रशिक्षकको आगमन सँगै पूजाले नयाँ पोजिसनमा खेलेकी हुन्। दोस्रो हाफमा मैदान प्रवेश गरेकी पुजाले श्रीलंकाका खेलाडीबाट डिफेन्सगर्न फर्काएको बललाई मैदानको दायाँ भागबाट दोस्रो बारमा गोल गरिन्।

नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेल बलियो टिम उज्वेकिस्तानसँग खेल्नेछ। नेपाल फिफा वरियताको १००औं स्थानमा रहेको छ भने उज्वेकिस्तान ५१औं स्थानमा रहेको छ। अन्तिम खेलमा उज्वेयिकस्तानलाई हराएको खण्डमा नेपालले अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ।

नेपालले अन्तिम पटक सन् १९९९ मा एसियन कप खेलेको थियो। यदि समुह चरणको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानलाई हराएको खण्डमा नेपाल २६ वर्ष पछि एसियन कपमा छनोट हुनेछ। नेपालले सन् २०२२ मा भारतमा भएको एसियन कपमा स्थान बनाउन सकेको थिएन।


Published :असार १८, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media