एसीसी यु–१६ फाइनलमा सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य

राष्ट्रपाटी न्युज

असार २१, २०८२

काठमाडौं । १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको फाइनलमा सिंगापुरले नेपालसामु ११४ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४० ओभर ५ बलमा अलआउट हुँदै ११३ रन बनाएको छ ।

सिंगापुरका रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । यस्तै, रियान नायकले १५, वेदान्श गुप्ताले १२ तथा आकाश तेजाले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका शुशील बहादुर रावल र अभय यादवले ३–३, शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए ।

नेपाल घरेलु टोली मलेसियालाई हराउँदै फाइनल पुगेको थियो भने सिंगापुरले हङकङलाई हराएको थियो ।

प्रतियोगितामा नेपाल अपराजित टिम हो भने सिंगापुरले नेपालसँगको भेटमा एक हार बेहोरेको छ ।


Published :असार २१, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media