काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका केही भागका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मुलुकका विभिन्न भूभागमा भारी वर्षाको समेत सम्भावना रहेकाले भूक्षय, बाढीपहिरो तथा गेग्रान बहावको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
आज सूर्योदय बिहान ५ बजेर १५ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।