आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ । मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा तुवाँलो लागेको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।


Published :माघ ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media