
बुढानीलकण्ठ। मितेरी स्पोर्ट्स हबको आयोजना र शिवपुरी युथ क्लबको व्यवस्थापनमा प्रथम खुल्ला मितेरी 6A फुटसल प्रतियोगिता २०८२ साउन १७ र १८ गते आयोजना हुने भएको छ। आयोजकले सोमबार बुढानीलकण्ठ-०२, भंगाल स्थित मितेरी स्पोर्टस हबमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गरेको हो।
बुढानीलकण्ठ -२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त पत्रकार सम्मेलनमा बुढानीलकण्ठ -८ का अध्यक्ष तथा नगर खेलकुद समितिका संयोजक सुमन तामाङ, नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिकि संयोजक शान्ता ढकाल पुडासैनी,शिवपुरी युथ क्लबका अध्यक्ष मधु कार्की लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक तथा आयोजक परिवार मितेरी स्पोर्ट्स हबका अध्यक्ष लुकेन्द्र राईले छोटो समयमा निमन्त्रणा स्वीकार गरी उपस्थिति जनाएका सम्पूर्ण सञ्चारकर्मी र पत्रकारहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगिता खेलकुदको माध्यमबाट सामाजिक एकता, सद्भाव, युवा प्रतिभाको पहिचान र समग्र खेलकुद विकासमा योगदान दिने उद्देश्यले आयोजना गरिएको जानकारी दिए।
प्रतियोगितामा देशका विभिन्न भागबाट २० भन्दा बढी टोलीहरूको सहभागिता रहने अनुमान गरिएको छ। प्रतियोगिताको दर्ता शुल्क रु ५,०००/- राखिएको छ भने दर्ताको अन्तिम मिति साउन १५ गते सम्म तोकिएको छ।
पुरस्कार विवरण:
• विजेता टोली: नगद रु ६०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र
• उपविजेता टोली: नगद रु ३०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र
• उत्कृष्ट खेलाडी: नगद रु २,५००/-
• उत्कृष्ट गोलरक्षक: नगद रु २,५००/-
कार्यक्रमका मुख्य उद्देश्यहरू:
• युवामा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नु
• राष्ट्रियस्तरका खेलाडी पहिचान तथा प्रोत्साहन
• मित्रता, अनुशासन र सहकार्यको भावना विस्तार
• स्थानीय तथा राष्ट्रिय खेलकुदको समग्र विकासमा सहयोग गर्नु
आयोजकका अनुसार प्रतियोगिताको खेल तालिका साउन १६ गते सार्वजनिक गरिनेछ र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिने व्यवस्था गरिनेछ। कुल अनुमानित खर्च रु ९,८५,०००/- रहनेछ।
आयोजकले प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रममा पनि सञ्चारकर्मीको उपस्थिति र प्रचार–प्रसारका लागि आग्रह गर्दै कार्यक्रम सफल बनाउन सबैको सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।