संविधान दिवसका अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिबाट शुभकामना सन्देश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताए । उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गरे ।

राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ भन्दै सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सकेमात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै नै पुग्न सक्ने विश्वास व्यक्त गरे ।

हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनाको बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई संविधानले समान संरक्षण प्रदान गरेको छ । उनले यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोहीकसैबाट नहुने अपेक्षा गरेका छन् ।

विसं २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान दिवस (राष्ट्रिय दिवस) मनाइँदैछ । दिवसका अवसरमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरूप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गरेका छन् ।

यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक अङ्ग तथा निकायमा समावेशी सिद्धान्तको पूर्ण पालना गर्नु सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य हुने बताएका छन्  ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले मौलिक हकहरूको अक्षरशः कार्यान्वयन, सङ्घीय संरचनाको सुदृढीकरण, शक्ति–स्रोतको न्यायोचित बाँडफाँट र प्रदेश तथा स्थानीय तहलाई संविधानसम्मत अधिकारसम्पन्न बनाउने कार्यमा सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य उल्लेख गरेका छन् ।

सङ्घीय प्रणालीप्रति जनविश्वास कायम राख्न ती प्रयासहरू निर्णायक हुने उपराष्ट्रपति यादवको भनाइ छ । उनले भनेका छन्, “नेपालको संविधान नेपाली जनताको दीर्घ सङ्घर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि हो, यो दस्तावेजले हाम्रो राष्ट्रिय आकाङ्क्षा, सार्वभौम अधिकार र लोकतान्त्रिक मूल्यहरूको जग बसालेको छ ।”

पछिल्लो समय संविधानको चौतारोभित्रै रहेर ‘जेनजी’ आन्दोलनको सम्बोधन तथा अन्तरिम सरकारको गठनको प्रसङ्गले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनःपुष्टि गरेको सन्देशमा उल्लेख छ । “संविधानले हामीलाई न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन प्रदान गर्दछ, यसले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँध्दै समृद्ध राष्ट्र निर्माणको आधार तयार गरेको छ”, उनले भनेका छन् ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका ऐतिहासिक आन्दोलनहरू र पछिल्लो समय ‘जेनजी’को प्रदर्शनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइते तथा अङ्गभङ्ग भएकाहरूप्रति उच्च सम्मान र परिवर्तनका अग्रदूतहरूप्रति गहिरो प्रशंसा प्रकट गरेका छन् ।


Published :अशोज ३, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media