काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव क्रियाशील रहने विश्वास दिलाएका छन् ।
उनले संविधान दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै संविधान कार्यान्वयन, आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र त्यसको पूर्ण पालनामा लाग्न सबैलाई आग्रह गरेका छन् ।
अध्यक्ष दाहालले जेन-जी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती रहेको पनि उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ, ‘यस अवसरमा देशको परिवर्तन र संविधानसभाबाट अग्रगामी संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते, अपाङ्गता भएका व्यक्तिप्रति उच्च सम्मान व्यक्त गर्दछु’, विसं २०७२ असोज ३ गते जनताबाट निर्वाचित प्रतिनिधि रहेको संविधानसभाले नेपालको संविधान जारी गरेको थियो ।
सोही दिनको सम्मान र स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवसलाई गौरव र उत्सवका रूपमा मनाउने गरिएको छ ।