विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

राष्ट्रपाटी न्युज

अशोज १७, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्दै उनले उक्त निर्देशन दिएका हुन्।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवं विपद् उद्धार सामग्री भण्डारको अवलोकन गर्नका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए। निरीक्षणपश्चात् आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको बताए।

सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन उनले निर्देशन पनि दिए। नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले धन्यवाद दिएका थिए ।


Published :अशोज १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media