हेटौँडा–काठमाडौँ जोड्ने २ वटा सडक सञ्चालनमा

राष्ट्रपाटी न्युज

अशोज २०, २०८२

मकवानपुर । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाण्डाै जोड्ने २ वटा सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् ।

सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ खण्ड र हेटौँडा–पालुङ–नौबीसे खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाण्डाै जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।

भीमफेदी–कुलेखानी–सिस्नेरी खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले गाडी सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए । बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उनको भनाइ छ ।

यस्तै हेटौँडा–काठमाण्डाै जोड्ने कान्ति लोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताए । ठाउँठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Published :अशोज २०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media