दसैँ सकिएसँगै काठमाडौँ भित्रिने यात्रुको सङ्ख्या बढ्दै

राष्ट्रपाटी न्युज

अशोज २४, २०८२

काठमाडौँ । दसैँ सकिएसँगै पछिल्ला दिनमा काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ।

दसैँ मनाउन आआफ्ना गाउँघर गएका नागरिक अहिले पुनः काठमाडौँ उपत्यका फर्किन थालेपछि यहाँका प्रमुख नाका र सडकमा यात्रु तथा सवारीसाधनको सङ्ख्या बढ्दै गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दसैँको भोलिपल्ट अर्थात् असोज १७ गतेदेखि बुधबार साँझसम्म काठमाडौँ उपत्यकामा एक लाख ५५ हजार ६९७ जना भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, “दसैँ सकिएको र बाढी पहिरो तथा वर्षात्ले अवरुद्ध राजमार्ग पनि सञ्चालन भएका छन् । राजमार्गहरूमा सवारीसाधनको सङ्ख्या पनि बाक्लिँदै गएको छ।”

दसैँको भोलिपल्ट अर्थात् असोज १७ गते ११ हजार ९५५ जना, १८ गते दुई हजार ६४८ जना, १९ गते १६ हजार ६९४ जना, २० गते ४० हजार ८७७ जना, २१ गते ६७ हजार ६९२ जना, २२ गते १५ हजार ८३१ जना गरी कुल एक लाख ५५ हजार ६९७ जना उपत्यका भित्रिएका प्रवक्ता सुवेदीले बताए।

उनका अनुसार दसैँका लागि भन्दै काठमाडौँ उपत्यकाबाट आठ लाख ६८ हजार ७२ जना बाहिरिएका छन् । हिजोआज काठमाडौँ प्रवेश गर्ने नाकाहरू विशेषगरी नागढुङ्गा, फर्पिङ, साँगाचोक, बलम्बु, जगातिलगायत स्थानमा दैनिक हजारौँको सङ्ख्यामा यात्रु तथा सयौँको सङ्ख्यामा सवारीसाधन उपत्यका भित्रिने र बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ।

दसैँ मनाएर फर्किनेमध्ये प्रायः रोजगारी, अध्ययन वा व्यापारका सिलसिलामा राजधानी फर्किने रहेका प्रहरीले जनाएको छ। दसैँको बिदापछि अहिले काठमाडौँको जनजीवन पुनः सक्रिय भएको छ। मन्त्रालय, कार्यालय, पसल तथा अन्य सङ्घसंस्था क्रमशः सञ्चालनमा आएका छन्।


Published :अशोज २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media