आइसीसी विश्वकप छनोटको ‘सुपर सिक्स’ मा प्रवेश गरेको नेपालले आज जापानसँग खेल्दै

राष्ट्रपाटी न्युज

अशोज २४, २०८२

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ। एक खेल अगाडि नै दुवै देश ‘सुपर सिक्स’मा प्रवेश गरिसकेकाले यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।

बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन्।

नेपालसँग पहिले नै हार भोगिसकेको कुवेत जापानसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो। समूह चरणको अन्तिम खेलको विजेताले ‘सुपर सिक्स’मा अतिरिक्त अंक लिएर जानेछ। त्यसैले दुवै देशमाथि आजको खेल जित्नै पर्ने दबाब छ।

बिहीबार जापानले कुवेतविरुद्ध १७८ रनको लक्ष्य सजिलै पुरा गर्दै १९ ओभर ३ बलमै जित दर्ता गर्‍यो। यो स्कोर हेर्दा नेपालले जापानलाई कमजोर सम्झनु हुँदैन। पहिलो खेलमा नेपालले कुवेतविरुद्ध सात विकेटको क्षतिमा १४१ रन बनाएको थियो। १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा अलआउट हुँदा ८३ रन मात्र बनाएको थियो। पहिलो खेलमा ५८ रनको शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ।


Published :अशोज २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media