नापीका सर्वेक्षक सुडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्वेक्षक विन्देश्वर साह सुडीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार सुडीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। सुडीसँगै उनकी श्रीमती सुमिन्त्रादेवी साहविरुद्ध पनि मुद्दा चलाइएको छ।

अख्तियारले सुडीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बिगो मागदाबी गरेको छ।

अख्तियारका अनुसार सुडीले २०४६ वैशाख १६ गते भूमिसुधार तथा व्यवस्था मन्त्रालय, काठमाडौंमा अमिन पदमा अस्थायी नियुक्ति लिएदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा उक्त अवधिमा उनले पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, सुन बिक्रीलगायतबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ वैधानिक आय आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ।

तर, सोही अवधिमा जग्गा खरिद, सवारीसाधन, अध्ययन खर्च, बैंक मौज्दात, ऋण तथा सापटीका रूपमा लगानीलगायत शीर्षकमा ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ खर्च तथा लगानी भएको पाइएको छ।

कुल वैधानिक आय र खर्च तथा लगानीको विवरण विश्लेषण गर्दा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको अख्तियारको निष्कर्ष छ।

अख्तियारका अनुसार गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको सम्पत्ति सुडीले आफ्नी श्रीमती सुमिन्त्रादेवी साहको नाममा समेत राखेको देखिएकाले उनलाई पनि प्रतिवादी बनाइएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार स्रोत नखुलेको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आरोपमा दुवैविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।


Published :भदौ ९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media