आइसीसी टी-२० विश्वकप छनोटः जापानद्वारा नेपाललाई १३२ रनको विजयी लक्ष्य

राष्ट्रपाटी न्युज

अशोज २४, २०८२

काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत जापानले नेपाललाई १३२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको अल अमिरत क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनायो। जापानका लागि कप्तान केन्डेल काडोवकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

जापानले ३.२ ओभरमा पहिलो विकेट रन आउटको रूपमा गुमायो। ओपनर ब्याटर अभिषेक आनन्द १ रनमै पेभेलियन फर्किए।

पावरप्लेमा १ विकेट गुमाउँदै ३१ रन बनाएको थियो। ८.२ ओभरमा जापानले १ विकेट गुमाउँदै ५० रन पूरा गर्‍यो। सन्दीप लामिछानेलाई फ्लेमिङले छक्का हान्दै ५० रन पूरा गरेका हुन्। १० ओभरमा ७० रन पूरा गरेको जापानले १२.५ ओभरमा ९७ रन बनाउँदा दोस्रो विकेट गयो । फ्लेमिङ र इस्मान रहमानले जापानका लागि ८६ रनको ठुलो साझेदारी गरेका थिए। इस्मानले २५ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए।

१३.५ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गर्‍यो। त्यसपछि भने जापानका कुनैपनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। बेन्जामेन डेभिसले १७ रन बनाए। उनी १९.५ ओभरमा नन्दन यादवको बलमा सन्दीप लामिछानेको हातमा क्याच भए।

नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए। जापानका २ ब्याटर रन आउट भए। समूह ‘बी’को अन्तिम खेलको रूपमा रहेको यो खेलमा नेपाल र जापान दुवै टोली सुपर सिक्समा प्रवेश गरिसकेका छन्। आजको खेलको विजेताले २ अंकसहित सुपर सिक्समा जानेछन्।


Published :अशोज २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media