
काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.१ ओभरमै १५६ रनमा समेटिएको हो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २०, सोमपाल कामीले ११ रन योगदान दिए । कप्तान रोहित पौडेल २, गुल्सन झा ३, करण केसी २ तथा सन्दीप लामिछाने र कुशल भुर्तेल शून्य रनमै आउट भए ।
अमेरिकाका बलर हर्मित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै ८.१ ओभरमा २६ रन खर्चेर ६ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए भने मिलिन्द कुमारले अविजित ७० रन जोड्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले ।
नेपालका बलरमध्ये सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट हात पारे ।