साम्बाको दुई गोलको मद्दतले भारतमाथि नेपालकाे जित

राष्ट्रपाटी न्युज

कार्तिक १०, २०८२

काठमाडौं । शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ।

प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले सुनिश्चित गरिसकेको थियो।

इरानले यसअघि भारतलाई २–० र नेपाललाई ३–० ले हराउँदै शीर्ष स्थान हात पारेको थियो। सान्त्वना जितका लागि मैदानमा उत्रिएको नेपालले सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै भारतलाई दबाबमा राख्यो।

खेलको दोस्रो मिनेटमै साम्बाले डिफेन्स लाइनबाट आएको लामो क्रसमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। दोस्रो हाफमा पनि साम्बाले नै निर्णायक प्रदर्शन गर्दै ६३औं मिनेटमा फ्रिकिकमार्फत गोल थपिन्, जसलाई भारतीय गोलकिपरले रोक्न सकिनन्।

८१औं मिनेटमा भारतका करिश्मा सिरभोकरले निर्मला देवीको फ्रिकिकमा आएको बललाई बाउन्स हुँदै प्राप्त गरी गोल फर्काइन्। तर, उक्त गोल बराबरीका लागि पर्याप्त रहेन र नेपालले २–१ को जित आफ्नो नाममा दर्ता गर्‍यो ।


Published :कार्तिक १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media