एससँगको एकता प्रयासले माओवादी आन्दोलन विसर्जनतर्फः जनार्दन शर्मा

राष्ट्रपाटी न्युज

कार्तिक १५, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया रोक्न माग गरेका छन्।

शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने भएकाले एकता प्रक्रिया रोक्न माग गरेका हुन् ।

पार्टी आन्दोलनमा शहीद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने र कुण्ठित गर्ने गरी भएको एकता प्रयासले माओवादी आन्दोलन विसर्जनतर्फ जाने उनले बताए।

उनले आम रूपमा समग्र कम्युनिष्ट र समाजवादको आन्दोलनलाई एकीकृत गर्ने गरी अभियान चलाउँदा पार्टीलाई नयाँ ठाउँमा लैजान सकिने जिकिर गरे।

महाधिवेशनबाट विधिसम्मत ढंगबाट नेतृत्व हस्तान्तरणमा जानुपर्नेमा त्यसलाई अस्वीकार गर्दै एकताका नाममा मनोनीत गरेर आफ्ना वरिपरि सुरक्षा घेरा बनाउने प्रयत्न भइरहेको उनले आरोप लगाए।

शर्माले माओवादी आन्दोलनलाई बलियो बनाउन गम्भीर हुनुपर्ने बताए। आफ्नो लिखित धारणा राखेर शर्मा बैठकबाट बाहिरिएका थिए।


Published :कार्तिक १५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media