एमालेद्वारा ‘युथ भोलेन्टियर फोर्स’ गठन

राष्ट्रपाटी न्युज

कार्तिक १६, २०८२

काठमाडौं । नेकपा एमालेले ‘युथ भोलेन्टियर फोर्स’ गठन गरेको घोषणा गरेको छ। आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामा उक्त फोर्सको औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य, एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतका नेता उपस्थित थिए।

युवा नेता महेश बस्नेतले कार्यक्रममा बोल्दै ‘युथ भोलेन्टियर फोर्स’का लागि प्रारम्भिक आचारसंहिता तयार पारिएको जानकारी दिए। उनका अनुसार भक्तपुरमा सुरुवात गरेपछि ललितपुर, काठमाडौं, काभ्रे, रामेछाप लगायत अन्य जिल्लामा पनि क्रमशः फोर्सको घोषणा गरिनेछ।

बस्नेतले मधेस, पहाड र हिमालका विभिन्न संगठनहरू यो अभियानमा सहभागी भएको बताए। उनका भनाइअनुसार, ओली गुण्डुमा बस्न थालेपछि करिब दुई महिनादेखि त्यहाँ युवाहरू सक्रिय रहेका छन् र सो अवधिमा करिब २ हजार युवाले विभिन्न जिम्मेवारी सम्हालेका छन्।

उनले पुष्प श्रेष्ठ, अमित पौडेललगायत नेताहरूले अहिलेसम्म समन्वय कार्य सञ्चालन गर्दै आएको जानकारी दिए। साथै, युवा संघ, भूपू सैनिक संगठन र एमाले भक्तपुरका कार्यकर्ताहरूले नेताहरूको सुरक्षासम्बन्धी कार्यमा पनि भूमिका निर्वाह गरिरहेको उनले बताए।

बस्नेतले विगतमा युथ फोर्सले माओवादीको आतंक अन्त्य गर्न भूमिका खेलेको स्मरण गर्दै अहिले पनि समाजमा देखिएका विभिन्न प्रकारका अराजकताविरुद्ध ‘युथ भोलेन्टियर फोर्स’ले सक्रिय भूमिका खेल्ने बताए।


Published :कार्तिक १६, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media