जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

राष्ट्रपाटी न्युज

कार्तिक २७, २०८२

हेटौँडा । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मकवानपुरको हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घतानेलाई पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

यसैगरी, हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षका सुरेन्द्र मगरलाई पक्राउ गरिएको छ । उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।


Published :कार्तिक २७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media