
काठमाडौं । नेपाली क्रिकेटको ‘महाउत्सव’ आज (सोमबार)देखि पुनः सुरु हुँदै छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण निम्ति तम्तयार छ । पहिलो संस्करणको फलतासँगै नयाँ उत्साह, ऊर्जा र अपेक्षासहित आजदेखि एनपिएलको दोस्रो संस्करण सुरु हुन लागेको हो ।
अघिल्लो संस्करण खुला चौरमा बसेर एनपिएल हेरेका समर्थकले दोस्रो संस्करणको मज्जा भने प्यारापिटमै बसेर लिन पाउनेछन् । यसका अतिरिक्त, त्रिवि क्रिकेट रंगशालमा फ्लड लाइट पनि जडान गरिएको छ । दोस्रो संस्करणका केही खेल फ्लड लाइटमा खेलाइने छ । सहभागी आठ टोलीहरू पनि प्रतियोगिताका लागि तयार देखिएका छन् । विश्व क्रिकेटका चर्चित प्रशिक्षक-क्रिकेटरको सहभागिताले क्रिकेटप्रेमीको उत्सुकता झन् बढेको छ ।
गत वर्ष ‘प्ले–अफ’मा पुगेका चार टोली (जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्स) यसपटक पनि धेरैको नजरमा परेका टिम हुन् । यसबाहेक काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले पनि यसपालि ‘कमब्याक’ गर्ने लक्ष्यसहित मैदान ओर्लनेछन् । सबै टोली एक-अर्कासँग एक-एकपटक भिड्नेछन् र त्यहीँबाट तय हुनेछ- ‘प्ले-अफ’ यात्रा ।
एनपिएलको तीन महिनापछि भारत-श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल सहभागी हुँदै छ । ओमानमा भएको छनोटमा एक पनि खेल नहारी टिम च्याम्पियन बनेको ताजै छ । त्यसैले यसपटकको एनपिएल विश्वकप तयारीकै एउटा महत्वपूर्ण मञ्च बन्ने निश्चित छ ।
यसपटक प्रतियोगिताको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । यसैगरी, उप–विजेता टोलीले ५१ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार हात पार्नेछन् । खेलाडीलाई व्यक्तिगत रूपमा प्रदान गरिने पुरस्कार राशिको बारेमा भने पछि घोषणा गरिने क्यानले जनाएको छ । अघिल्लो संस्करणमा पनि विजेताहरूलाई यति नै पुरस्कार राशि प्रदान गरिएको थियो ।
क्यानले दोस्रो संस्करणमा प्रायोजक, टिकट बिक्री, ओटिटी प्रशारण अधिकारी बिक्री लगायतबाट ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी गर्ने विश्वास लिएको छ । सहभागी टोलीहरूबाट करिब नौ करोड रुपैयाँ जुटेको छ । ओटिटी प्रशारण अधिकारबाट पनि पाँच करोड ३० लाख रुपैयाँ प्राप्त हुने बताइएको छ । दोस्रो संस्करणमा क्यानले यसलाई आम्दानीको मुख्य स्रोत मानेको छ । टिकट बिक्रीबाट कम्तीमा आठ करोडदेखि अधिकतम् १२ करोड रुपैयाँसम्म उठाउने अनुमान गरिएको क्यानले जनाएको छ । यसका अतिरिक्त, मुख्य प्रायोजक र अन्य प्रायोजकबाट १५ करोड ३० लाख रुपैयाँ प्राप्त हुने बताइएको छ ।
पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
एनपिएलको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज भिड्दै छन् । दुई टोलीबीचको खेल अपराह्न ४ बजे सुरु हुनेछ । यसैगरी, मंसिर २ गते चितवन राइनोज र कर्णाली याक्सको खेल पौने १२ बजे हुनेछ भने यो खेल सकिएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स दिउँसो ४ बजे आमनेसामने हुनेछन् ।