
काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले हराएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा काठमान्डुले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा १३५ रन बनाउँदै अलआउट भयो।
लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रन बनाए। उनले १८ बलमा ३ छक्का प्रहार गर्दै रनआउटको रुपमा पेभेलियन फर्किए।
पहिलो विकेटका रुपमा सन्दीप जोरा ५ बलमा १ चौकासहित ७ रनमा क्याच भए। दोस्रो विकेट अर्का ओपनर डार्सी सर्टको विकेट गयो। उनले ११ बलमा ३ चौका र १ छक्कासहित २२ रन बनाएका थिए। गुल्बदिन नैब ११ रनमा क्याच भए। उनलाई ४.४ ओभरमा साहब आलमको बलमा जेहरार्ड इरास्मसले चोभार इन्डको बाउन्ड्रीमा उत्कृष्ट क्याच गरेका थिए।
पावरप्लेमा लुम्बिनीले ३ विकेटको क्षतिमा ४९ रन बनाएको थियो। कप्तान रोहित पौडेल ११ रनमा एलबीडब्ल्यू हुँदा लुम्बिनीको ब्याटिङ धरापमा परेको हो। त्यसपछि आएका जे जे स्मिथ, सुमित महर्जन र रुबिन ट्रम्पलमेन सस्तैमा पेभेलियन फर्किए। आठौं विकेटको रुपमा लामो समय लुम्बिनीको क्रिज सम्हालेका दिलिप नाथको विकेट गयो । एउटा इन्डबाट क्रिज सम्हालेका दिलिपले २५ रन बनाए।
१७ औं ओभरका साहब आलमलाई लगातार ३ छक्का प्रहार गर्दै शेर मल्लले लुम्बिनीलाई आशा दिलाएका थिए। तर उनी १७.१ ओभरमा रन आउट हुँदा लुम्बिनीको आशा सकिएको हो। अभिषेश गौतम अन्तिम विकेटको रुपमा करण केसीको हातमा क्याच हुँदै लुम्बिनी अलआउट भएको हो। तिलक भण्डारी ६ रनमा अविजित रहे।
काठमान्डु गोर्खाजका बलिङतर्फ मिलिन्द कुमार र जेहरार्ड इरास्मसले २-२ विकेट लिए। साहब आलम, करण केसी, सन्तोष यादव र रासिद खानले १-१ विकेट लिए।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको काठमान्डु गोर्खाजको लागि करण केसीले सर्वाधिक ३४ रनमा अविजित रहे। उनले ११ बलमा १ चौका र ४ छक्काको आक्रमक पारी खेलेका थिए। काठमान्डुको पहिलो विकेटको रुपमा दोस्रो ओभरको पहिलो बलमा शेर मल्लले काठमान्डुका ओपनर ब्याटर वेन चार्लेसवर्थलाई डकआउट गराएका थिए।
वान डाउन आएका रासिद खानको रुपमा काठमान्डु गोर्खाजले दोस्रो विकेट गुमायो। उनले १० बलमा २ चौका सहित सन्दीप जोराको हातमा क्याच भए। मिलिन्द कुमारले १७, सन्तोष यादवले २६ र जेहरार्ड इरास्मसले १७ रन बनाए। यी दुईले छैटौं विकेटको लागि ३६ रनको साझेदारी गरेका थिए। साहब आलम १ रनमा अविजित रहे।
लुम्बिनीले जम्मा ७ जना बलर लगाएको थियो। जसमा ४ बलरले विकेट लिए। रुबिन ट्रम्पलमेन र शेर मल्ल, रोहित पौडेल र गुल्बदिन नैबले २-२ विकेट लिए। लुम्बिनीले यसअघि, पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो। दोस्रो खेला कर्णाली याक्ससँग ९ विकेटले पराजित भएको थियो।
काठमान्डुले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएर सुखद सुरुवात गरेको काठमान्डुले त्यसपछिको २ खेलमा हार बेहोर्यो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको काठमान्डु तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले पराजित भएको थियो। बुधबार विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ।