
काठमाडौं । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनकालागि प्रतिनिधि चयनको कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं क्षेत्र नम्बर ४ मा सहमतिको प्रयास असफल भएपछी चुनावी प्रक्रिया मार्फत प्रतिनिधि चयन गरिएको छ। ५ जना प्रतिनिधिको लागि ५१ जनाको उम्मेदवारी परेपछि अन्तत निर्वाचन प्रक्रिया अबलम्बन गरिएको थियो। काठमाडौं क्षेत्र नम्बर ४ मा १ जना महिलाको लागि ९ जना , १ जना युवाको लागि ५ जना एवं ३ जना खुल्लाको लागि १३ जना उम्मेदवार रहेका थिए ।उक्त निर्वाचन प्रक्रियामा केहि महत्वपूर्ण एवं रोचक विषय तथा घटनाहरु देखिएका थिए।
न्यून मतदान
१७ सय भन्दा धेरै संगठित सदस्य रहेको यस क्षेत्रमा जम्मा ७२८ मत मात्र खसेको थियो। बुढानीलकण्ठ नगरपालिकाका ८ वटा र काठमाडौं महानगरपालिकाका ४ वटा वडाहरू रहेको यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका ४ वटा वडाहरूबाट एकदमै न्यून मतदान भएको थियो भने बुढानीलकण्ठ नगरपालिकाका ८ वटा वडाहरु बाट समेत सोचेजस्तो मतदान हुन सकेन ।
बदर मतको संख्या धेरै
७२८ मत खसेकोमा पूर्ण रुपमा बदर मतको संख्या ६७ थियो। त्यतिमात्र होइन, ३ वटा क्लस्टर मध्य खुला क्लस्टरमा बढीमा २ जनालाई मतदान गर्नुपर्नेमा धेरै मतदान गरेर धेरै मतहरु थप बदर भएका थिए। अन्य क्लस्टरमा पनि त्यो समस्या देखिएको थियो। कार्यकर्ताहरुमा मतदान सम्बन्धि शिक्षाको कमि र मतदान प्रक्रियाको ढिलो जानकारी हुँदा समेत यो समस्या आएको सजिलै अनुमान गर्न सकिन्थ्यो।
उम्मेदवारले उम्मेदवारी फिर्ता लिन पाएनन्
मङ्सिर १३ गते बिहान ९ बजेबाट मतदान हुने कार्यक्रम भएपनि झन्डै साढे ११ बजेबाट मतदान शुरु गरिएको थियो। केहि उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिए पनि अन्य थप उमेद्वारहरु पनि उम्मेदवारी फिर्ता लिने योजनामा थिए। जिल्ला पार्टी कार्यालयमा बेलुका उम्मेदवारी फिर्ता लिन गएका केहि उम्मेदवारहरुलाई जिल्ला अध्यक्ष दीपक निरौलाले उम्मेदवारी फिर्ता लिन समय सकिएको भन्दै फ़र्काइदिएका थिए। भोलिपल्ट निर्वाचनको बेला भने कसैले पनि फिर्ता लिएको घोषणा गरेनन , जितिन्छ कि भन्ने आश र विश्वास सहित धेरै उम्मेद्वारहरु भोट मागिरहेका देखिन्थे।
निर्णायक बन्यो चुनिखेल
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ निर्वाचनको नतिजाको लागि निर्णायक बनेको छ। उक्त वडा भित्रको पार्टी सदस्यहरु बिचको एकता र चुनिखेलको सामुदायिक एकताले महत्वपूर्ण भूमिका निर्वाह गर्यो। उक्त क्षेत्रवाट खुल्ला तर्फ श्रीकृष्ण श्रेष्ठ र युवा तर्फ धर्म लाल श्रेष्ठ उम्मेदवार रहेका थिए। अन्य धेरै पार्टी सदस्य रहेको कपन क्षेत्र पनि एकीकृत हुन नसकेको देखियो। अन्तत चुनिखेल क्षेत्रबाट खुल्ला तर्फ श्रीकृष्ण श्रेष्ठ र उद्वब खरेलले धेरै मत पाएको मत गणनाको क्रममा प्रष्ट देखिन्थ्यो। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ बाट धेरै उम्मेदवार भएपछी मत बाँडिएको देखियो। प्रदेश मन्त्री जयराम थापाले समेत चुनिखेलबाट राम्रै मत प्राप्त गरेपनि बिजयी बन्ने स्थिति बनेन। यो पटक पनि चुनिखेललाइ बिभाजन गर्ने कतिपयको चाहना पुरा हुन नसकेको प्रष्ट देखियो।
उद्वब खरेलको ब्याक गिएर
सहमतिको लागि आफु बाधक नबन्ने भन्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेका बुढानीलकण्ठ नगरपालिकाका पुर्व मेयर उद्वब खरेल अन्तत निर्वाचन प्रक्रियामा होमिए। अघिल्लो दिन पनि खरेल खासै चुनाव लड्ने मुडमा देखिदैनथे। तर भोलिपल्ट निर्वाचन प्रक्रिया शुरु भएपछी चाबहिलको ए वान पार्टी प्यालेसको भित्र छिर्ने गेट नजिकै बाटोमा मलिन अनुहार सहित कार्यकर्ताहरुसंग भोट मागिरहेका थिए र अन्तत बिजयी भए । बिशेष श्रोतका अनुसार खरेलले उम्मेद्वारी फिर्ता लिएमा प्रदेश मन्त्री जयराम थापाले सजिलै जित्ने अवस्था बनेपछि उनलाई फिर्ता नलिन वातावरण बनाइएको थियो। खरेलको उम्मेदवारी जारि राख्नका लागि नै फिर्ता लिन चाहने अन्य उम्मेदवारको उम्मेदवारी समेत यथावत राखिएको श्रोतको भनाइ छ। खरेलले यस अघि नै महाधिवेशनमा केपी वलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने विचार राख्दै आएका छन्।
बागमती प्रदेश मन्त्री जयराम थापाको पराजय
काठमाडौं क्षेत्र नम्बर ४ मा महाधिवेशनको प्रतिनिधिको निर्वाचनमा प्रदेश मन्त्री जयराम थापा पराजित भएका छन्। उनले जम्मा २०१ मत प्राप्त गरेका थिए भने बिजेता उद्वब खरेलले २१२ मत र श्रीकृष्ण श्रेष्ठले २४९ मत प्राप्त गरेका थिए। निर्वाचनको लागि पछिल्लो समय राम्रो गृहकार्य गरेका थापाले काठमाडौं महानगरपालिकाका ४ वटा वडाहरूबाट राम्रै मत प्राप्त गरेपनि चुनिखेल र कपन क्षेत्रको सोचेजस्तो मत ल्याउन सकेनन। आफ्नै वडाबासि नेता उद्वब खरेल मैदानमा ओर्लिएपछि थापालाई आफ्नै वडाको समेत सोचेजस्तो मत आएन र अन्तत ११ मतले पराजित भए। मन्त्री थापालाई हराउन ठुलै पंक्ति सक्रिय रहेको समेत प्रष्ट देखिन्थ्यो।
बुढानिलकण्ठ नगर कमिटिको नतिजा
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटिका सचिव श्रीकृष्ण श्रेष्ठ र उपसचिव सुनिता गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् भने अध्यक्ष प्रदिप डंगोल क्षेत्र नम्बर ५ बाट पराजित हुन पुगेका छन्। त्यसैगरी उपाध्यक्ष शम्भु प्रसाद भट्टराई समेत पराजित भएका छन्।
ओखलढुंगे मत निर्णायक बन्यो सरस्वति कार्कीलाइ
काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा स्थायी रुपमा बसोबास गर्ने सरस्वति कार्की ओखलढुंगामा जन्मिएकि चेली हुन । काठमाडौं क्षेत्र नम्बर ४ मा ओखलढुंगाबाट आएर बसोबास गर्नेको ठुलो मत छ। उक्त मतको साथ कार्कीले पाउँदा उनि विजेता बन्न सफल भएको तथ्यांकले देखाउँछ।
अन्त्यमा, यस क्षेत्रवाट निर्वाचित पाँच जना प्रतिनिधि मध्ये उद्वब खरेल केपी वलीको विपक्षीमा र सरस्वती कार्की खुलेरै केपी वलीको पक्षमा देखिन्छन। बाँकी प्रतिनिधिको हकमा भने दुवै पक्षले आफ्नो पक्षमा रहेको दावी गर्ने गरेका छन्।