
धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् ।
बराहक्षेत्रस्थित चक्रघट्टीमा बुधबार (मंसिर १७) आयोजित सभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताए ।
“हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ,” अध्यक्ष साम्पाङले भने, “नेपालको कुनै पनि राजनीतिक दल ‘चोखो र जनउत्तरदायी’ छैनन् ।”
जाति, धर्म, वर्गका आधारमा फुटेको देशलाई जोड्न आफू निस्केको उनको भनाइ छ । मुलुकको सामाजिक एकता र श्रमको सम्मानमा आधारित राजनीतिक संस्कृति विकास आफ्नो पार्टीको लक्ष्य रहेको उनले बताए ।
साम्पाङले आफ्नो नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले हाल देशभर संगठन विस्तारलाई आक्रामक रूपमा अघि बढाइरहेको जानकारी दिए । “जेनजी आन्दोलनपछि ठूला भनिने दलहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको बेला श्रम संस्कृति पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ,” उनले भने, “जनताको विश्वास र समर्थन वृद्धिले आफ्नो दल राष्ट्रिय विकल्पका रूपमा स्थापित भएको छ ।”