
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत लिग चरणको २३ औँ खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा छनोट भएको छ। पोखरालाई हराएसँगै प्लेअफमा छनोट हुने सुदूरपश्चिम रोयल्सपछि काठमान्डु गोर्खाज दोस्रो टिम बनेको हो।
काठमान्डु गोर्खाजको जितका लागि साहब आलमले अन्तिम ओभरमा ४ विकेट लिँदै काठमान्डुको जित पक्का गरेका हुन्।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा १६६ रन बनाएको थियो।
काठमान्डु गोर्खाजले दिएको १६७ रनको विजयी लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा १५२ रनमा अलआउट भएको हो।
पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले। उनले ३१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। उनले पाँचौँ विकेटका लागि धनन्जय लक्समसँग ७६ रनको साझेदारी गरे।पोखराका लागि ओपनर तथा कप्तान कुशल भुर्तेलले २२ रन बनाए। अर्का ओपनर एडम रोसिङ्टन ५ रनमा सन्न पटेलको बलमा बोल्ड भए। जेसन रोय १६ धनन्जय लक्ष्शम ३० रनमा पेभेलियन फर्किए। त्यसपछि भने कुनैपनि ब्याटरले ऋषिसँग साझेदारी बनाउन सकेनन्। मध्यक्रमको ब्याटरले रनमा योगदान गर्न नसक्दा पोखराले हार बेहोरेको हो।
काठमान्डु गोर्खाजको लागि बलिङ तर्फ साहब आलमले ह्याट्रिक सहित सर्वाधिक ६ विकेट लिए। उनले अन्तिम ओभरमा ४ विकेट लिँदै काठमान्डु गोर्खाजको जित सुनिश्चित गरे। एनपीएलको इतिहासमा ह्याट्रिक लिने उनी पहिलो बलर हुन्। करण केसी र सन्नी पटेलले २–२ विकेट लिए।
त्यसअघि ब्याटिङकाठमान्डु गोर्खाजको लागि बेन चाल्र्सवर्थले सर्वाधिक ६४ रन बनाउँदै क्याच भए। उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
काठमान्डुको पहिलो विकेट आकाश त्रिपाठी डकआउट भए। दोस्रो विकेटको रुपमा वान डाउन आएका रासिद खानको विकेट गयो। तेस्रो विकेट मिलिन्द कुमार १३ रनमा स्टम्पिङ भए। जोन सिम्पसन २ रनमा पोखराका कप्तान कुशल भुर्तेलको हातबाट कट एण्ड बोल्ड भए। आदिल अलामले ७ रन बनाए। भिम सार्कीले ५५ रन बनाए। सन्नी पटेल २ रनमा अविजित रहे।
पोखरा एभेन्जर्सका लागि धनन्जय लक्शनले सर्वाधिक ४ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिँदा विपिन खत्री र किरण ठगुन्नाले १ विकेट लिए।
काठमान्डुले यसअघि ४ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। काठमान्डु गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रन र तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले हार बेहोरेको थियो। चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रन, पाँचाैँ खेलमा चितवन राइनोजलाई ५३ रन र छैटौं खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो।
पोखरको यो छैटौं खेल हो। पोखराले यसअघिको पाँच खेलमा २ जित र ३ हार बेहोरेको छ। पोखरा एभेन्जर्सले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो। चौथो खेलमा पोखरा लुम्बिनी लायन्ससँग ३ विकेटको हार बेहोरेको हो। पाँचौँ खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको हो।
बिहीबारको दोस्रो खेल चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।