
काठमाडौं । लगातार उत्कृष्ट प्रदर्शन जारी राख्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ।
आज चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले अपराजित यात्रा कायम राख्यो। चौथो हार बेहोरेपछि चितवनको प्ले अफ यात्रा भने जटिल बनेको छ, जबकि चितवनको पराजयसँगै विराटनगर किङ्स प्ले अफ पुग्ने तेस्रो टिमका रूपमा उभिएको छ।
१ सय ७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमै १ सय २० रनमा अल आउट भयो। पावर प्लेमा ३ विकेट गुमाएर ३६ रन मात्र जोडेको चितवनका ओपनर डविट मलान र अर्जुन साउद दुवै प्रारम्भमै आउट भए।
१६ औं ओभरमा चितवनले लगातार ३ विकेट गुमाउँदै पूर्ण रूपमा संकटमा पर्यो। पुनित मेहराले ३ विकेट लिए भने अन्य बलरहरू पनि प्रभावकारी रहे।
यसअघि टस जितेर बलिङ रोजेपछि चितवनलाई सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रनको प्रतिस्पर्धात्मक स्कोर दियो। क्रिस लिनले ७५ रनको उत्कृष्ट पारी खेल्दै पारीको आधार तयार पारे। विनोद भण्डारी, इशान पाण्डे, पुनित र हर्मित सिंहले पनि योगदान दिए। चितवनका बलरमध्ये सेफ जेबले २ विकेट लिए।
यसअघि साहब आलमको ह्याट्रिक मद्दतमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै पाँचौँ जितसहित प्ले अफमा प्रवेश गरेको छ ।