एसीसी यू-१९ एसिया कपको दोस्रो खेलमा पनि नेपाल पराजित

राष्ट्रपाटी न्युज

मंसिर २९, २०८२

काठमाडौँ । एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार भोगेको छ। आज दुबईमा भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले हराएको छ।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै बंगलादेशलाई १३१ रनको मामूली लक्ष्य दिएको थियो। जवाफमा बंगलादेशले ३ विकेट गुमाएर मात्र २४.५ ओभरमा लक्ष्य पूरा गर्‍यो। नेपालका बलर अभिषेक तिवारी र युवराज खत्रीले एक-एक विकेट लिए।

बंगलादेशका ओपनर जवाद आब्ररले ६८ बलमा ७० रनको अविजित इनिङ खेलेर टिमलाई जित दिलाए। उनले ७ चौका र ३ छक्का प्रहार गरे।

नेपालले सुरुवाती राम्रो प्रदर्शन गर्दै पहिलो विकेटका लागि ६.४ ओभरमा ४० रन जोडे पनि त्यसपछि लगातार विकेट गुमाउँदै स्थिति कमजोर बनायो। नेपालका लागि आठौं नम्बरका ब्याट्सम्यान अभिषेक तिवारीले सर्वाधिक ३० रन जोडे। उनी ४३ बल खेल्दा २ छक्का प्रहार गरे। अन्य ब्याट्सम्यानमध्ये साहिल पटेलले २५ बलमा १८ रन, निरज यादवले २७ बलमा १४ रन र आशिष लुहारले ४१ बलमा २३ रन बनाए। नेपालले अतिरिक्तका रूपमा २३ रन पायो।

बंगलादेशका बलर मोहम्मद सोबुजले ३ विकेट लिए भने साद इस्लाम र शाहरियार अहमदले २-२ विकेट बाँडे।

नेपालले पहिलो म्याचमा श्रीलंकासँग ८ विकेटले हार भोगेको थियो ।


Published :मंसिर २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media