झापा ५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत

झापा । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

आज बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नं. ५ को बैठकले प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा अध्यक्ष ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

उक्त क्षेत्रबाट उम्मेदवार बन्न अन्य आकाङ्क्षीहरू पनि रहे तापनि अध्यक्ष ओलीका लागि सर्वसम्मत रूपमा क्षेत्र छाडिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो । यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ओली यही क्षेत्रबाट उम्मेदवार भई विजयी भएका थिए ।

झापा जिल्लामा पाँचवटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबै क्षेत्रमा आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने उद्देश्यले आज विभिन्न बैठकहरू आयोजना गरिएको जनाइएको छ ।


Published :पुस १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media