भ्रष्टाचारमुक्त देश बनाउने प्रयासकै क्रममा अप्रत्याशित परिस्थिति आयो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचारमुक्त देश निर्माणका लागि योजनाबद्ध रूपमा काम अघि बढाएको तर त्यसैक्रममा अप्रत्याशित परिस्थिति सिर्जना भएको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले चुनौतीका बीचमा पनि सरकार सुशासन र विकासका एजेन्डामा अघि बढिरहेको स्मरण गरे ।

‘हामीले देशलाई जोगाएर यहाँसम्म ल्याएका छौँ,’ ओलीले भने, ‘एमालेको दृष्टिकोण र अडान सबैलाई थाहा छ। यो अडान निरन्तर रहन्छ—राष्ट्रियता, सुशासन र विकासको पक्षमा।’

ओलीले पछिल्लो समय देशलाई जात, भूगोल र भाषाका आधारमा विभाजन गर्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले भत्काउने कामले मात्र देश निर्माण हुन नसक्ने उल्लेख गर्दै हेटौंडामा सरकारले घर भत्काएको घटनाप्रति आपत्ति जनाए। निर्वाचनको वातावरण बनाउनुपर्ने समयमा सरकार भत्काउने गतिविधिमा केन्द्रित भएको उनको आरोप थियो ।

‘यो सरकारले के गर्‍यो ? हेटौंडामा घर भत्काउनु नै काम थियो ? चुनाव गराउनुपर्दैन ? चुनावको वातावरण बनाउनुपर्दैन ?’ ओलीले भने, ‘घर आधा भत्कायो, आधा बाँकी राख्यो। भत्काउने बानी परेको छ। निर्देशन आएपछि जे पनि भत्काउन थालिएको छ।’

उनले सरकार, लोकतन्त्र, संविधान र सुकुम्बासी बस्तीसमेत भत्काउने काम भइरहेको आरोप लगाउँदै सरकारको आलोचना गरे ।

देश निर्माणका लागि सही सोच र विवेक आवश्यक रहेको उल्लेख गर्दै ओलीले भने, ‘भत्काएर मात्रै देश बन्दैन। देश बनाउनुपर्छ। दिमाग ठिक ठाउँमा भएका मान्छे चाहिन्छ, उन्माद र नशामा देश बन्दैन।’


Published :पुस २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media