काठमाडौं–५ मा ईश्वर पोखरेल, ७ प्रकाश श्रेष्ठ र ९ अजयक्रान्ति शाक्य उम्मेदवार, ४ टुंगिन बाँकी

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले टुंग्याउने गरी खाली राखेका काठमाडौंका चार क्षेत्रमध्ये तीन क्षेत्रको उम्मेदवार तय गरेको छ।

एमाले स्रोतका अनुसार काठमाडौं क्षेत्र नम्बर ५ बाट पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार बन्ने भएका छन्। उनले महासचिव शंकर पोखरेललाई फोनमार्फत आफू नै उक्त क्षेत्रबाट उठ्ने जानकारी गराएका हुन्।

यसअघि पोखरेल नउठे उपमहासचिव योगेश भट्टराईलाई उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो। तर, पोखरेलले आइतबारसम्म स्पष्ट जवाफ नदिँदा निर्णय रोकिएको थियो।

त्यसैगरी, काठमाडौं–७ बाट प्रकाश श्रेष्ठ र काठमाडौं–९ बाट अजयक्रान्ति शाक्यलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

तर, काठमाडौं–४ मा उम्मेदवार टुंगो लाग्न सकेको छैन। यस क्षेत्रबाट यसअघि चुनाव लड्दै आएका सचिव डा. राजन भट्टराई उम्मेदवारी नदिने मनस्थितिमा रहेपछि अन्य आकांक्षीहरू देखिएका छन्। निवर्तमान मेयर उद्धव खरेल, वडा नं. १० का अध्यक्ष नवराज भट्टराईलगायतको नाम चर्चामा रहे पनि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय हुन बाँकी छ।

काठमाडौं–४ कांग्रेस सभापति गगन थापाको बलियो क्षेत्र मानिन्छ। थापा लगातार विजयी हुँदै आएका कारण एमालेका केन्द्रीय तहका नेता उम्मेदवारी दिन हच्किएको स्रोतको भनाइ छ।


Published :माघ ५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media