जिम्बाब्वेविरुद्ध नेपालकाे ६ विकेटको जित, ‘सुपर–६’ दौड कायम

काठमाडौं । आइसीसी महिला टी२० विश्वकप ग्लोबल क्वालिफार्यसमा नेपालले पहिलो जित दर्ता गरेको छ। नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गर्दै सुपर सिक्सको सम्भावना कायमै राखेको छ।

शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जिम्बावेले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रनसहित लक्ष्य पूरा गरेको हो। नेपालका लागि पूजा महतोले सर्वाधिक ५२ रनमा अविजित रहिन्। उनले ५० बलमा ४ चौका र २ छक्कासहित अर्धशतकीय पारी पूरा गरेकी हुन्। उनको टी२० अन्तर्राष्ट्रियमा यो तेस्रो अर्धशतक हो। ओपनरद्वय बिन्दु रावल र सम्झना खड्काले क्रमशः १५ र ९ रन बनाए। कप्तान इन्दु बर्माले २३ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाइन।

कविता जोशी १ रनमा पेभेलियन फर्किइन्। आजको खेलमा ११ रन प्रहार गर्दै सीता राना मगरले टी २० अन्तर्राष्ट्रियमा सीता राना मगरले १ हजार रन पूरा गरेकी हुन्। उनी १७.३ ओभरमा रिटायर हर्ट भइन्। रन लिने क्रममा उनको खुट्टामा बलले लाग्दा उनलाई खेलको बीचबाट नै अस्पताल लगिएको हो।

रुबिना क्षेत्री २ रनमा अविजित रहिन्। जिम्बावेका लागि जोस्पाइन कोमोले २ विकेट लिइन्। नोम्भ्लो सिबान्दा र क्रिस्टावेल चाटोन्ज्वाले १–१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको जिम्बावेका लागि केलिस धोलुभले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी सहित अविजित रहिन्। उनले ३६ बलमा ८ चौका प्रहार गरिन्।

जिम्बावेका लागि ओपनिङ ब्याटर चिपो तिरिपानो र विलभ्ड विजाले क्रमशः ८ र ३४ रन बनाए। मोडेस्टर मुपाचिक्वाले १४ जोस्पाइन कोमो ६ रनमा एलबीडब्ल्यू आउट भइन्। क्रिस्टावेल चाटोन्जावा १ रनमा अविजित रहिन्। नेपालको लागि रिया शर्माले २ विकेट लिइन्। पूजा महतो, सीता राना मगर र रुबिना क्षेत्रीले १– १ विकेट लिए।

नेपालले पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। जिम्बावेको यो चौथो खेल थियो। यसअघि, ३ खेलमा पराजित हुँदै जिम्बावे सुपर सिक्सको होडबाट बाहिरिइसकेको छ। नेपालसँग पनि पराजित हुँदै जिम्बावे प्रतियोगितामा जितविहीन बन्यो ।


Published :माघ १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media