
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन्। शनिबार काठमाडौंमा सर्लाहीका युवाहरूसँगको छलफलका क्रममा उनले काठमाडौंमा आफू सहजै जित निकाल्ने अवस्थामा रहेपनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन्।
काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउँको निरन्तर सेवा गरिरहने सभापति थापाको भनाइ छ। उनले काठमाडौं बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरेपनि आँट नपुगेको उल्लेख गरे। कांग्रेसलाई मधेशले नै अहिलेको अवस्थामा ल्याएकाले मधेशसँगको मुखको औपचारिक सम्बन्ध जोडेर मात्रै नहुने भन्दै उनले मधेशको नेतृत्व गर्ने प्रयास गरेमात्रै आफू राष्ट्रिय नेता हुने धारणा राखे।
आफू सो क्षेत्रमा निर्वाचित भए पाँच वर्ष मधेशका लागि आफ्नो काम समर्पित गर्ने सभापति थापाले बताए। उनले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीबाट आफूले जनताको समस्या सुन्ने उल्लेख गरे।
त्यस्तै सभापति थापाले युवाहरूको भावनालाई आत्मसाथ गर्न पार्टीमा परिवर्तनको प्रयास गरेको र सफल भएको बताए। अहिलेको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केही कमीकमजोरी भएपनि कुनै आर्थिक चलखेल नभएको उनले बताए ।