आईसीसी टी–२० विश्वकपको अभ्यास खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय टिमले श्रीलंका ‘ए’सँगको तेस्रो खेलमा शानदार जित निकालेको छ।

शनिबार सम्पन्न भएको तेस्रो अभ्यास खेलमा नेपालले ७ विकेटको जित निकालेको हो। सुरुका दुई अभ्यास खेलमा पराजित भएको नेपालले अभ्यास शृङ्खलाको सुखद् अन्त्य गरेको हो।

सुरुमा ब्याटिङ गरेको श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमै ३ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालको जितमा कुशल भुर्तेलले महत्त्वपूर्ण योगदान दिए। अर्धशतक बनाउन एक रनले चुकेको भुर्तेलले ३५ बल खेल्दै ४९ रन बनाए।

उपकप्तान दीपेन्द्र सिंह ऐरी १५ बलमा २२ रन बनाउँदा अविजित रहे। त्यस्तै, आरिफ शेखले २२ बलमा २४ रन जोडे भने कप्तान रोहितकुमार पौडेलले १९ रनको योगदान दिए। ओपनर आशिफ शेख ११ रनमा आउट भएका थिए।

विश्वकप अगाडि अब नेपालले श्रीलंकाबाट सिधै भारतमा गएर अभ्यास गर्नेछ।


Published :माघ ११, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media